किसन राईको महाप्रस्थानपछिको हङकङ...



राईको महाप्रस्थानपछि... / तस्बिर: डम्मरकृष्ण श्रेष्ठको फेशबुक

एभरेष्ट मिडियाका संचालक तथा एभरेष्टखबरका सम्पादक/ प्रकाशक किसन राईको असमायिक मृत्यु भएपछि पुरै हङकङका नेपाली समुदायको ‘सातो’ गएको जस्तो भएको छ। पत्रकार जेबी पुनले भने जस्तै ‘वान मेन आर्मी’ किसन राईले पुरै नेपाली समुदायको कवचको काम गरिरहेका रहेछन भन्ने महशुस अहिले सबैलाई भईरहेको छ । 

 

ब्याक्तिगत रूपमा नजिक र पछिल्लो एक वर्ष यता उहाँले प्रकाशन गर्दै आएको मासिक पत्रिकामा सह-कार्य गरिरहेकोले उनको मृत्युको खबरले मेरो मन-मष्तिष्कमा ठुलै धक्का दिएको महशुस भईरहेको छ । कति दिन राम्ररी निदाउन समेत नसकेको अवस्था छ । काम र ब्यावहारले किसनदाईका जति मित्र थिए उनले ‘सत्रु’पनि धेरै बनाएका रहेछन । सामाजिक सन्जालमा आएका केहि ‘स्क्रिन सट’हरूले उनको मृत्युपछि खुशी मनाउनेहरू पनि रहेछन भन्ने देखियो । त्यसैले पनि हङकङेली नेपालीहरूले ‘भीरबाट लडेर मृत्यु भएको’ कुरालाई पनि शंका गरिरहेको पाईन्छ । ‘राम्रो छानबीन भएन कि’ भन्ने जनगुनासो सामाजीक संजालमा आईरहेका छन् ।

 

निर्माण क्षेत्रमा स्काफोल्डरको काम गरिरहेको म २५ तारिकको बिहान ‘किसन दाई बितेको’ खबर सुनेपछि काममा जान सकिन । त्यसपछिका दिनमा मज्जाले निदाउन पनि सकेको छैन । यो घटनापछि र उहाँको मृत्युमा यहाँ खुशीहुनेहरू देख्दा हङकङमा मैले पनि ‘असुरक्षित’ महशुस गर्न थालेको छु । 

 

दाईको निधनपछि हङकङमा निकट रहेका कतिपय मानिसहरूको स्वभाव र ब्यावहारमा परिवर्तन देखिरहेछु । कतिपय साथीभाईहरूको ब्यवहार पहिलेदेखिनै धेरै फरक त पाउँदै आएको हो तर अहिले आएर सबैमा एककिसिमको ‘डर’ ले मनमा घर गरिरहेको जस्तो लाग्छ । कतिपयले हसिमजाक गरे जस्तै ‘हाईकतिर नजानु किसन जस्तै लडिएला !’ पनि भन्छन । किसन दाईका पहिलेदेखिका ‘सत्रु’ धेरै भएकाले कतिले ‘सतर्क’ गराईरहेका पनिछन ।

कतिले मिडियाको भनेर ‘सरकारको सुरक्षा कानुन लगाएर अप्ठ्यारोमा पार्लान’ भनेर डर पनि देखाईरहेकाछन । तर, ‘नबिराउनु, नडराउनु’ भने जस्तै मैले कसैको केहि बिगारेको छैन भने किन डराउँने ? भनेर मन दर्हो बनाएपनि अर्को मनले मानिरहेको छैन । आफ्नो भन्दा पनि परिवारको चिन्ताले सताउने रहेछ ।

 

पछिल्लो पटक संसारभर कोभिड-१९ को असर पर्दैजादा म नेपालबाट आफ्नो पुस्तक ‘नेपाली प्रवासन, नियति र रहर’ निकालेर हङकङ फर्केको थिए । जुन पुस्तकको हङकङ बिमोचन किसन राईको सक्रियतामा एभरेष्ट मिडियाले आयोजना गरिदिएको थियो । 

त्यसो त म नेपालमा हिमाल मिडियामा काम गर्दादेखिनै  मैले नेपालबाट एभरेष्ट मिडियालाई सघाईरहेको थिए ।  २०१६ यता हङकङलाई कर्मथलो बनाएपछि भने मेरो लागी २ बाटो थिए । आफ्नो र परिवारको लागी राम्रो कमाई हुने यहाँको बहुसंख्यक नेपालीले गर्ने निर्माण क्षेत्रको काम या एभरेष्ट मिडियामा किसन दाईसँग सह-कार्य । अफिसको खर्च धान्नै मुश्किल हुने एभरेष्टको काम भन्दा हङकङको महङ्गीमा बाँच्न निर्माण क्षेत्रमा १२ घण्टे काममा होमिनुको विकल्प म सँग थिएन । काम-घर, काम-घरको अवस्थामा नेपालबाट धेरै मिडियाले यताको लेख, रिपोर्ट मागेपनि मेरो प्राथमिकता निर्माण क्षेत्रको मजदुरी नै रह्यो ।

 

सुरूदेखि नै हङकङमा मिडियाको काममा लागेर/ लेखेर जीविकोपार्जन हुने नदेखेपछि  मैले यहाँका धेरै नेपाली काम गर्ने निर्माण क्षेत्रमा ‘कन्स्ट्रक्शन वर्कर’को रूपमा १०/१२ घण्टे काम गर्नुको विकल्प थिएन । कतिले ‘नेपालमा त्यत्रो काम गरेको मान्छे कता यस्तो मजदुर बन्न लागेको’ पनि भने । तर, नेपालमा काम गर्दै कतार, मलेशीया लगायतका देशहरूमा धेरै नेपालीहरूले  यस्तै मजदुरी गरिरहेको देखेको म कुनै पनि काम ठुलो सानो भन्ने हुदैन भन्छु । त्यसैले पनि, आफै हङकङमा अरू सरह कडा परिश्रम सहितको मजदुरी गर्न म तयार भए ।

त्यसो त हङकङको निर्माण क्षेत्रको कमाई अरू कामको तुलनामा लोभलाग्दो भएकोले यहा कड़ा परिश्रम गरेर धेरैले मनग्गे कमाई गरिरहेकाछन ।मासिक ३० देखी ६० हजार हङकङ डलर अर्थात नेरू ४ लाख ५० हजारदेखि ९ लाख रूपैयासम्म कमाई हुने भएकाले यसरी काम गरेर धेरैले यतादेखि नेपालसम्म राम्रो बन्दोबस्त गरेकाछन।मेरो सोचाई पनि २/३ वर्ष काम गरेर केहि ब्यापार/ ब्यावसाय गर्दै आफ्नो शौखको काम गर्ने थियो । त्यहि अनुसार लगातार ३ वर्ष यसरी निर्माण क्षेत्रमा काम गरेर दुई वर्ष यता ब्यावसायतिर हात हाल्दै परिवारको सहयोगमा एक पसल पनि संचालन गरिरहेको छु ।

 

निर्माण क्षेत्रमा मजदुरी गर्न गएपनि एक वर्ष अघिदेखि भने किसन दाईकै अनुरोधमा एभरेष्टखबरमा फेरि  जोडिन आईपुगेको थिए तर मेरो सर्त म्यागजिनलाई हङकङका नेपाली समुदाय केन्द्रीत बनाउँने थियो। जुन मैले हेर्न थालेपछिका पत्रिका हेर्दा थाहा हुन्छ । सँगसँगै हङकङबाट संसारभरका नेपालीहरूलाई जोड्न युट्युबमा नेपाली लाइफ च्यानल बनाएर याहाँका नेपालीको संघर्ष र सफलताका कथाहरू समेटन थालेको थिए। 

 

यहाँको मेरो काम र मिडिया सहभागितालाई लिएर कसैले मलाई केहि गर्नसक्ने अवस्था देख्दिन । नेपालमा २० वर्ष लामो समय ‘फुलटाइम’ पत्रकारिता गरेको मलाई ‘पत्रकार’ का रुपमा कसैले केहि गर्नसक्छ भन्ने पनि लाग्दैन। तर, मेरो मिडिया सक्रियता रोक्न पारिवारिक ब्यावसाय र ब्याक्तिगत रूपमा चरित्र हत्या गर्न कुनै घटना घटाएर, अरू नै निहु र कारणहरू खोजेर ‘फसाँउने’ पो हो कि भन्ने एक किसिमको डर लागीरहेछ । अहिले सोच्दा पछिल्लो २ वर्ष यता ‘मलाई फसाँउन’ धेरै पटक कोशीस गरिएको पो थियो कि भन्ने पनि लाग्न थालेको छ। त्यस्ता केहि घटनाहरू पनि दिमागमा आईरहेकाछन । कतिपय घटनाक्रमहरू सम्झदा मैले चिनेका, नजिकका समेतलाई कसैले प्रयोग गरिरहेको त छैन ? भन्ने लाग्छ । हु त यो मेरो  ‘डर’को उपज पनि हुनसक्छ।

 

त्यसो त, मेरो आफ्नै काम, नाम-पहिचान भएको र कहिल्यै कसैको कुभलो नचिताउने भएकाले मेरो पनि ‘सत्रु’ होलान भन्ने मलाई लाग्दैन । अहिले विश्वेश्वर प्रसाद कोईरालाको ‘सत्रु’ कथाको पात्र सम्झिरहेको छु । प्रत्यक्ष देखिने, चिनिने ‘सत्रु’सँग लड़न सहज हुन्छ तर, अदृष्य ‘सत्रु’सँग लड्न कसरी सकिएला ?

तर, नेपालमा काम गर्दा त्यत्रो माओवादीको सांघातिक आक्रमण समेत सहेको, ज्यानको बाजी थापेर  गुण्डाहरूको भण्डाफोर गरेको मेरा लागी कसैले तर्साउँदैमा तर्सिने र डराउने यो ज्यान हैन । तर, हङकङको नेपाली समाजले मलाई कसरी बुझेको छ ? र, अहिले कसरी बुझाउने- चिनाउने प्रयास गरिदैछ ? 

 

किसन राई दाईको महाप्रस्थानपछि म आफ्नै मुल्याङकन गर्दैछु । कसैलाई केहि कुभलो नचिताएपनि ’सत्रु’हुदा रहेछन । ‘सत्रु र मित्र’ छुट्याउन नसक्ने र सबैलाई विश्वास गर्ने मेरो बानी ठिक हैन भन्ने लागीरहेछ । भोली को दिन कसले देखेको छ थाहा छैन तर जस्तै चुनौती आए पनि म समना गर्न तयार छु।हिजो किसन दाई थिए र कसैलाई केहि पर्दा काँध थाप्न आईदिन्थे र धेरैलाई सजिलो भएको थियो । तर आज दाई नभएपनि सबैले मिलेर र एकजुट भएर ज्ञात, अज्ञात ‘सत्रु’ र उसको षड्यन्त्रसँग लड्नै पर्छ । 

 

सधै फुटेको जस्तो देखिने नेपाली समाज किसन राईको निधनपछि जुट्न थालेको जस्तो देखिएको छ यो राम्रो संकेत हो । तर, कसैको मृत्युमा खुशीयाली मनाउने प्रवृति भएको समाजबाट धेरै आशा गर्न सकिन्न । असुरक्षा र एक्लोपन महशुस भईरहेको अवस्थामा पनि अझै निडर भएर जस्तै परिस्थितिको पनि सामना गर्न म चाहि तयार छु । आफ्नो सत्रु र मित्र चिन्ने यो सुनौलो अवसर मैले ठानेको छु ।

 

डम्मरकृष्ण श्रेष्टको फेशबुकबाट