श्री १ ज्वालाको घोषणा पत्र
१. #व्यवस्थापिक संसद : तीन पुस्ता (बाजे, बुवा र हाम्रो) को रगत पसिना र शहिदहरुको बलिदानीबाट प्राप्त लोकतन्त्रको जगमा निर्माण भएको संविधाननको मर्म अनुसार जनताको मतद्धारा पाँच वर्षका लागि नर्वाचित अंग हो । र, १८१ पृष्ठको संविधानको ३०८ धारा, ३५ भाग, ९ अनुसूचिमा (धारा ७६ को ७ को अवस्था बाहेक) कहिँकतै प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रावधान छैन ।
तसर्थ यो कदम असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, जनअभिमत विपरित र प्रतिगामी छ ।
२. #पात्र र प्रवृति : संसद विघटन गरेर अहिलेसम्मको आन्दोलनका उपलब्धिहरुलाई समाप्त पार्ने काम प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभयो । यो कदम प्रधानमन्त्रीको कुर्सीमा बसेर अरु जोकोही नेताले गरेको भएपनि यो अक्षम्य अपराध हो अस्विकार्य कार्य हो । अर्थात कुनै पात्रको विरोध होईन यो प्रवृतिको विरोध हो ।
३. #पार्टी एकता र विभाजन : पार्टी एकता ऐतिहासिंक संयोग थियो, विभाजन विर्सन नसकिने दुर्घटना बन्यो । हामी कार्यकर्ताहरु फड्के किनाराका साक्षी बनेर नियालीरहदाँ यो दुबै काममा कमरेड केपी शर्मा ओली र कमरेड प्रचण्ड भागिदार छन् । तर पहिलो अध्यक्ष र प्रधानमन्त्री पनि भएकाले ओली बढी जिम्मेवार छन् । फुटको दोष ओलीमा जान्छ । अर्थात यसो भन्न सकिन्छ दुर्घटना दुई वा दुई भन्दा बढी पक्षहरुको कमजोरीमै हुने घटना हो मात्रात्मक रुपमा ओली बढी जिम्मेवार छन् ।
४. #मेरो अभिमत :
क. #संसद विघटन संविधान र व्यवस्था विरोधी कदम हो यस्ता सनकी, अहंकारी र बालहठी कदमको समर्थन गर्न सकिदैन परिवर्तनका नारा घन्काउने हाम्रा मुखहरुले प्रतिगामीको गुनगान गाउन सकिदैन, किमार्थ हुँदैन ।
ख. #माक्र्सवादी दर्शन र सिद्धान्तको अध्ययनले हामी कम्युनिष्ट भएका हौँ, व्यक्तिलाई हेरेर होईन । तसर्थ हरेक नेताको काम र व्यवहारलाई सिद्धान्तको कसीमा दाँजेर गुण र दोषको आधारमा समर्थन र विरोध गर्नु पर्दछ । तसर्थ ओलीको व्यवहार, काम, प्रवृति र कार्यशैली आलोच्य छ । सर्वहारा श्रमजीवी वर्गको ईतिहासले त यस्ता प्रवृतिको अन्त्यका लागि लामो समयदेखि संघर्ष नै गर्दै आईरहेको छ नजिरहरु रहेका छन् ।
ग. #कम्युनिष्ट आचरण, कार्यशैली, नैतिकताको हिसावले कमरेड ओली प्रवृति र वहाँका लम्पट भजनमण्डी श्रमिकको पार्टी हुनैसक्दैन । त्यस्तो समुहले सर्वहारा श्रमिक वर्गको मुक्तिदाता र समाजवाद तर्फको श्रमिक जनताको सपना पुरा गर्नसक्दैन । तसर्थ त्यस्तो समुहमा लाग्नु र नलाग्नुको कुनै औचित्य नै छैन, कम्तीमा म चाँही त्यस्तो पार्टीमा लाग्न सक्दीन मलाई लाग्छ न्यायप्रेमी श्रमिकहरु पनि त्यहाँ रहनुहुन्न कोही लाग्नु भएको छ भने पनि समयको बर्वादी हुनेछ ।
५. #अब के गर्ने :
क. #प्रतिगमनको विरुद्ध सशक्त आन्दोलनको अगुवाई गर्ने ।
ख. #माक्सवाद र लेनिनवादको सैद्धान्तिक जगमा उभिएको सर्वहारा श्रमजीवी मेहनती जनताको मुक्तिको सपनालाई साकार पार्दै समाजवाद निर्माण दिशामा अघि बढ्ने कम्युनिष्ट पार्टी निर्माणको दिशामा अघि बढ्ने ।
६. #एउटा अपिल : नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका नेता, कार्यकर्ता तथा सदस्यहरुलाई अपिल ः यो संगठन २०३६ सालमा पञ्चायती निरंकुश व्यवस्थाका समय भूमिगत रुपमा स्थापित संगठन हो । अग्रजहरुको त्याग, लगन, समर्पण र रगत पसिनाले बनेको संगठन हो । यो संगठनलाई एकढिक्का राख्नु पर्छ । यसलाई फुटाउने दुस्साहस नगर्न सबैलाई आग्रह गर्दछु । पार्टी फुट्दा संगठन पनि फुटाउने र पार्टी मिल्दा मिलाउने कामबाट श्रमिकहरुको संगठनलाई टाढा राख्नु पर्छ । एकिकृत मजदुर शक्तिले मात्रै श्रमिकहरुको अधिकारको संरक्षण र सुरक्षा गर्न सकिन्छ । २०५४ सालमा पार्टी फुट्दा पनि यो संगठनलाई सुदृढ एकताका साथ बचाउन सकिएको थियो । त्यो ईतिहाँसलाई अक्षुण राख्नु पर्दछ । म नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका सदस्यहरुलाई आग्रह गर्छु तपाईको विचारमा कुनै हस्तक्षेप हुनेछैन तपाईँहरुले पनि संगठनलाई त्यही हिसावले साथ र सहयोग गर्न अपिल गर्दछु ।