मुख्यमन्त्री राईले पाए विश्वासको मत



मुख्यमन्त्री राई / तस्बिर: enewspathshala

विराटनगर 

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट बहुमतले विश्वासको मत प्राप्त गरेका छन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले राखेको विश्वासको मतको पक्षमा ५० मत परेको थियो भने विपक्षमा २९ मत प्राप्त भएको थियो । ९२ जना प्रदेश सदस्य रहेको प्रदेशसभाको बैठकमा ७९ जना सदस्य उपथित थिए । मुख्यमन्त्री राईले मागेको विश्वासको मतको पक्षमा बहुमत पुगेको उल्लेख गर्दै प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले उनले विश्वासको मत प्राप्त गरेको घोषणा गरे । मत दिन्नँ भन्ने पक्षमा भने कुनै पनि मत परेको थिएन ।

‘प्रदेश सभामा तत्काल कायम रहनुभएका जम्मा ९२ जना प्रदेशसभाका सदस्यमध्ये मतदानमा उपस्थित माननीय सदस्यको संख्या सभामुखबाहेक ७९ रहेको छ । माननीय सदस्यहरु, उल्लेखित माननीय सदस्यहरुबाट माननीय श्री राजेन्द्रकुमार राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा जम्मा ५० मत प्राप्त भएको छ ।  त्यसैगरी प्रस्तावको विपक्षमा अर्थात् हुन्न भन्ने पक्षमा जम्मा २९ मत प्राप्त भएको छ । र मत दिन्न भन्ने पक्षमा शुन्य मत प्राप्त भएको छ’, सभामुख भण्डारीले सदनमा भने ।

‘मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आफूमाथि प्रदेशसभाको विश्वास छ भनि प्रदेशसभाका विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्तावको पक्षमा जम्मा ५० मत परेकाले उक्त मत प्रदेश नम्बर १ प्रदेशसभामा तत्काल कायम रहेको ९२ जना सदस्य संख्याको बहुमत भएको हुँदा माननीय मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न राख्नु भएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख भण्डारीले सदनमा भने ।

मुख्यमन्त्री राईलाई विश्वासको मत प्राप्त गर्न ४६ मत भए पुग्थ्यो ।  विपक्षमा भने एमालेका २९ सांसद्ले मतदान गरेका थिए । एमालेका नेता तथा निर्वतमान मुख्यमन्त्री शेरधन राईसहित अरु ११ जना संसद उपस्थित भएनन् । प्रदेशमा एमालेका सभामुख बाहेक ४० जना संसद रहेका छन् । त्यसमध्ये एक सांसद गुलेफुन खातुन किर्ते मुद्दामा अदालतले दोषी ठहर गरेपछि फरार छन् । तत्कालीन मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका राई गत कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  उनी ५ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।