तिर्खा कविता



तिर्खा / तस्बिर: Bhuwan Roka


तिर्खा ✍️
————
तिर्खा लाग्यो?
तिमी अलिकती देश पिउनु उता
म अलिकती परदेश पिउछुँ यता
अनि 
गफौँला कसको स्वादिलो भनेर

सिंहदरबार क्याफे
निजी क्याबिन
महंगो सोफा 
अनि 
सुन्दरीको सर्भिस
एक बोतल 
पगालेर सगरमाथाको आधा उचाई
घोलेर लुम्बिनीको इतिहास
पिएका छौ धेरैपल्ट तिमीले
भनन त्यसको स्वाद कस्तो थियो?

पिएका छौ धेरै पल्ट 
एक घुट्को सिमानाको चित्कार
एक गिलास कालापानी
एक जग लिम्पियाधुरा
एक गाग्री राष्ट्रियता 
अनि पिएका छौ धेरै पल्ट 
एक कचौरो वाइड बडी
एक डबका बालुवाटारको जमिन
एक बोतल पगालेको सुन  
एक घ्याम्पा रेमिट्यान्स 
भनन त्यसको स्वाद कस्तो थियो?

यता म परदेश पिईरहेको छुँ
एक थोपा देशको याद
एक अंखोरा गाऊँको सम्झना
एक घैला परिवारको माया
मर्दैन तिर्खा यति धेरै पिउदा पनि 
त्यसैले 
हरेक दिन हरेक समय पिउछुँ 
आफ्नै निधारबाट बगेको पसिना
यसको स्वाद त अमिलो छ

हो अमिलो छ परदेशको स्वाद
भनन कस्तो छ 
तिमीले पिउने देशको स्वाद?

भुवन रोका "मित्रजी"
खोटाङ, नेपाल
हाल: टोकियो, जापान