कविता : जीवनी
~छन्द: स्रग्विणी~
जिन्दगी फूल हो पारखी भन्दछ्न्
साधना गर्दछ्न् पौरखी बन्दछ्न्
कर्मको चालमा सुस्तरी चल्दछ्न्
कृष्णको बाँसुरी धूनमा नाच्दछ्न् ।१।
सत्यको गाउँमा बस्दछिन् दाउरी
दाउरा जिन्दगी पर्दछिन् चाउरी
कर्मको मर्म जो बुझ्दछ्न् माहुरी
सत्यता साथमा भव्यता बेसरी ।२।
दुष्टले जीवनी दु:खमा पार्दछ्न्
स्वार्थको आडमा भाइ नै मार्दछन्
धृष्टका पुत्रको जिन्दगी देखियो
राज्यको लोभमा जीवनी मेटियो ।३।
छोकडा आजका स्वार्थमा लिप्त छन्
स्वार्थको खोजमा लोकमा डुल्दछन्
रक्सिमा जाँडमा तासमा भुल्दछ्न्
सिन्किको मोलमा जीवनी बेच्दछ्न् ।४।
दु:खमा वेदना कर्ममा साधना
जीवनी चल्दछिन् कर्मको चालमा
पापको पुन्यको अर्थ के धर्ममा
जान्नको चाहना चाहियो लोकमा।५।
कामले क्रोधले लोभले मोहले
जीवनी मातमा फाल्दछ्न् दुष्टले
शान्तिको साथमा जिवनी मस्त छिन्
स्वार्थले भर्खरै नर्कमा डुब्दछिन्।६।
धन्यवाद
-हरि शर्मा
मिशिगन,अमेरिका ।