अभिनेता पल शाह प्रहरी हिरासतमा
नाबालिकालाई बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्णविक्रम शाह) प्रहरी हिसासतमा परेका छन् ।
जबरजस्ती करणी अभियोगमा उजुरी परेको पाँच दिनसम्म फरार रहेका शाह आफु नजिकका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न थालेपछि आईतबार प्रहरीको सम्पर्कमा आएका थिए । त्यसअघि उनले सामाजिक सञ्जालमा आफु प्रहरी समक्ष आत्मसमर्पण गर्न लागेको बताएका थिए । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई आइतबारै जिल्ला अदालत तनहुँमा पेस गरेर अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको छ । प्रहरीले अभियुक्त शाहलाई न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न माग गरेपछि अदालतले सात दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
शाह विरुद्ध गत बुधवार जिल्ला प्रहरी कार्यालय तनहुँमा नाबालिग गायिकाले जबरजस्ती करणी गरेको अभियोगमा उजुरी दिएकी थिईन् । अभियुक्त शाह पक्राउ परे लगत्तै आइतबारै इलाका प्रहरी कार्यालय गैँडाकोटमा समेत उनी विरुद्ध नाबालिगको तर्फबाट अर्को जाहेरी समेत दर्ता भएको छ । उक्त जाहेरीमा २०७७ चैत ७ गते नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको गैँडाकोट रिसोर्टमा एक दिन मात्रको लागि सुटिङका लागि लगेको उल्लेख गर्दै भोलिपल्ट पनि सुटिङ गर्ने भन्दै मादक पदार्थ खुलाएर बलात्कार गरिएको उल्लेख छ।
मुलुकी अपराध संहिता २०७४ को दफा ११९ (२) मा अठार वर्ष भन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिएर करणी गरेपनि जबरजस्ती करणी मानिने व्यवस्था छ । अभियोग प्रमाणित भएमा अभियुक्त शाहलाई दशदेखि बाह्र वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था छ ।