आरोप प्रमाणित भए पल शाहलाई कस्तो हुन्छ कारबाही ?
म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका पल शाह (पूर्णविक्रम शाह) विरुद्ध एक गायिकाले जबरजस्ती करणी गरेको अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएपछि यो विषयले कला क्षेत्र तातिएको छ ।
१७ वर्षीया एक गायिकाले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध जाहेरी दिएकी छन् ।
नेपालको कानुन अनुसार १८ वर्षभन्दा कम उमेरको कसैसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार ठहरिने व्यवस्था छ। सोही कानुनका आधारमा पीडितले जाहेरी दिएकी हुन् । मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ अनुसार कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरे वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै किशोरीलाई करणी गरे निजले त्यस्तो महिला वा किशोरीलाई जबर्जस्ती करणी गरेको मानिने कानुनी व्यवस्था छ।
होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई ‘मञ्जुरी’ नमानिनेसमेत कानुनमा उल्लेख छ । तर, शाहले भने गायिकासँगको शारीरिक सम्बन्धलाई सहमतिमै भएको स्विकारिसकेका छन् ।
जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी कारबाही गर्ने कानुनी प्रक्रिया छ। सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी किशोरी भए १० देखि १२ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ।
जाहेरी दर्ता गर्ने किशोरी १७ वर्षकी भएकी हुँदा सोही कानुन आकर्षित हुने देखिन्छ। शाह र ती गायिकाबीच भएको गोप्य कुराकानीको अडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । शाहले यसअघि नै उनीसँग सहमतिमा शारीरिक सम्बन्ध भएको स्विकारेका छन् ।
पीडित महिला एक महिनाअघि आफूमाथि पल शाहले यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकारभित्र नरहेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो। तनहुँ प्रहरी जानुभन्दा पहिले नै पलले पीडित किशोरीलाई फकाइफुल्याई जाहेरी दर्ता नगर्न अनुरोध गरेका थिए।