धरानमा रचना, अस्मिता र एकदेवले मच्चाए धमाका



मनोरञ्जन धमाका / तस्बिर: enewspathshala

युवापुस्ताका चर्चित गायक गायिकाहरु एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारीले धरानमा आयोजीत सांगीतिक कार्यक्रममा धमाका मच्चाएका छन् ।

सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको ‘मनोरञ्जन धमाका’मा गाउन धरान आईपुगेका उनीहरुले हजारौं दर्शक स्रोता माझ भव्य प्रस्तुति दिए । धरानको स्टेजमा पहिलो पटक गाएका एकदेव, रचना र अस्मिताले शनिबार राती पब्लिक हाईस्कुल मैदानमा आफ्ना गीतहरु प्रस्तुत गर्दा दर्शकहरुले नाचेर साथ दिए । संगीत बुझेका धराने दर्शकको भरपुर माया पाउँदा उनीहरु दंग थिए । राती सवा दश बजेसम्म उनीहरुका गीतमा दर्शक स्रोताहरु खुलेर नाचेका थिए ।

अधिकांश युवापुस्ताका दर्शकहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा अध्यधिक भीड भएर कयौं दर्शक फर्किन बाध्य भएका थिए । आयोजकले साँझ साढे ५ बजे कार्यक्रम समय तोकेपनि दर्शकहरु ढिलो गरी साढे सात बजे देखि मात्र आएपछि एक्कासी भीड बढेको थियो । सुरक्षाकर्मीलाई दर्शकको भीड सम्हाल्न मुस्किल परेपछि गेट खुला गरिएको थियो । 
कार्यक्रममा गायिका रचना रिमालले गाउन सुरु गरेपछि दर्शकको भीड बढेको थियो । दुवै तर्फका गेटमा लामो लाईनमा दर्शकहरु बसेका थिए । तर अध्यधिक भीड भएपछि सम्भावित दुर्घटनाको जोखिमका कारण गेट खुला गरिएको आयोजकले जनाएको छ ।

नेपाल आइडल सिजन ३ को टप ८ सम्म पुगेकी तथा चटपटेवालीको रुपमा भाईरल गायिका  रचना रिमालले फोटो फिरिममा, सम्झिने पानी छम्किने ,उनको  प्रित लगायतका आधा दर्जन गीत  गाएकी थिइन  । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता तथा अहिलेकी चर्चित गायिका अस्मिता अधिकारीले आफ्ना लोकप्रिय गीतहरु टाढा भएपनि, तिम्रो मायाले बाँधेर राख, साली मन प¥यो, लज्जावती झारझैं गाएर धराने  दर्शकलाई मन्त्रमुग्ध बनाईन ।  

त्यस्तै युवापुस्ता माझ चर्चित एकदेव लिम्बुले आँखामा आउने सपनी, क्या राम्री, तिम्रो मुटुमा, मेरी सानु, शिरफूल, सेवारो, जस्ता आफ्ना सिग्नेचर गीतहरु गाएर दर्शक नचाए ।  धेरै सहरमा आफ्नो प्रस्तुति दिईसकेका एकदेवले धरानमा कार्यक्रम  गर्ने सपना पुरा भएको र त्यसमाथि दर्शकको भव्य उपस्थितिमा गाउन पाउँदा खुसी लागेको बताए ।


 नेपाल आइस बियरको मुख्य प्रायोजन तथा डिभाइन वाइन प्रिमियमको सह–प्रायोजन रहेको भब्य कन्सर्टमा ब्ल्याक पिग इन्टरटेनमेन्ट, एनएचडीडी स्टुडियो, जेन्टलमेन अनलाईन टिभी, बराह ग्रुप, एसपी इभेन्ट्स एण्ड इन्टरटेनमेन्ट, लोक जगत मोटर्स, केन्द्र मोशन पिक्चर्स, जेके सुपर मार्केट र बीएसके इन्टरटेनमेन्टको बिशेष सहयोग रहेको थियो।