प्रधानमन्त्री देउवाद्वारा ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई

प्रिन्स दाहाल / तस्बिर: internet
प्रधानमन्त्री शेरबाहदुर देउवाले विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको विश्व वरियतामा शीर्षस्थान हासिल गर्न सफल भएका प्रिन्स दाहाललाई बधाई दिएका छन् ।
उनले विहीबार सामाजिक सञ्जालमार्फत १९ वर्षीय ब्याडमिन्टन खेलाडी दाहाललाई बधाई तथा आगामी दिनको शुभकामना दिएका हुन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको वरियताअनुसार दाहाल पहिलोपटक शीर्षस्थानमा उक्लिएका हुन् । उनको १० हजार ५०० अङ्क रहेको छ ।
महासङ्घले जारी गरेको वरियताअनुसार जुनियरतर्फ दोस्रो वरियतामा मलेशियाका जस्टिन होह छन् । उनको नौ हजार ५९० अङ्क रहेको छ । यस्तै मलेशियाकै फाजरिक मोहमद रजिफ छ हजार ९२५ अङ्कसहित तेस्रो स्थानमा छन् ।
नेपालका जुनियर खेलाडी दाहालले पाएको यो नै नेपाली ब्याडमिन्टनले हालसम्म पाएको सर्वाधिक ठूलो सफलता हो । विश्व ब्याडमिन्टन महासङ्घले प्रत्येक साता विश्वभरका जुनियर तथा सिनियर खेलाडीको वरियता सार्वजनिक गर्ने गरेको छ । दाहाल हाल ललितपुरको लगनखेलस्थित पिनागल कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।